बैतडी –स्थानीय तहको निर्वाचन नजिक आएसंगै नेकपा एमालेले पनि वडा तह र पालिका तहमा उम्मेद्वार छनौट गर्न थालेको छ । जिल्लाका विभिन्न स्थानीय तहको प्रमुख र उपप्रमुखका लागि नेताहरुले दाबी प्रस्तुत गर्न थालेका छन् ।
जिल्लाको पाटन नगरपालिकाको मेयर पदका लागि एमालेबाट पाँच जना आकांक्षी रहेका एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । आकांक्षीहरुबीच सहमतिका लागि छलफल भईरहेको उनले बताए ।
पाटन नगरपालिकाको मेयरका लागि एमालेबाट जिल्ला उपसचिव लोकेन्द्र भण्डारी, पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकबहादुर भण्डारी, एमालेका पाटन इन्चार्ज देवेन्द्र कुँवर, प्रदेश कमिटि सदस्य धर्मानन्द भट्ट र नारायण भण्डारीले दाबी प्रस्तुत गरेका छन् ।
आकांक्षीहरुको नाम पार्टीमा आएको र सर्वसम्मत उम्मेद्वार बनाउने हिसाबले पार्टीमा छलफल शुरु भएको उपसचिव भण्डारीले बताए । एक दुई दिनभित्रै उम्मेद्वारको टुंगो लाग्ने उनले दाबी गरे ।
उपमेयरका बिषयमा भने अहिले छलफल शुरु भईनसकेको भण्डारीले बताए । मेयर पदको उम्मेद्वार टुंगो लगाएपछि मात्रै उपमेयर पदको उम्मेद्वारका बिषयमा छलफल हुने उनले बताए ।