बैतडी –बैतडीमा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान शुरु हुँदैछ । देशभर जस्तै बैतडीमा पनि यो अभियान शुरु हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
जिल्लाका १५ महिनादेखि १५ बर्ष सम्मका ७८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानमा ६२० स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वयंसेवक खटाइएको छ । स्वयंसेवकमा महिला स्वास्थ्य स्वयंसेविका र एकजना खोपकेन्द्र रहेको विद्यालयका शिक्षिकालाई राखिएको छ । उनीहरुलाई तालिम समेत दिइएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप पहिलो पटक दिन लागिएको हो । यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
बैतडीमा आज वैशाख ८ गते सम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । ८ ओटा स्थानीय तहमा आजदेखि २९ गतेसम्म अभियान सञ्चालन भईरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले बताए । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका,सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका,दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा आजदेखि शुरु भएको हो ।
यस्तै सुर्नया गाउँपालिकामा आगामी वैशाख २ गतेदेखि ६ गते सम्म र मेलौली नगरपालिकामा आगामी वैशाख ४ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप लगाउँदा बालबालिकाहरुलाई कुनै समस्या नहुने भएकाले ढुक्क भएर खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यो बर्ष अभियानको रुपमा टाइफाइड विरुद्धको खोप दिइनेछ भने अर्को बर्षदेखि बालबालिकाहरुलाई दिइने नियमित खोपमै टाइफाइड विरुद्धको खोपलाई राखिने स्वास्थ्य प्रमुख भट्टले बताए । बालबालिकाहरुलाई १५ महिना हुँदा दादुरा–रुबेला खोपको दोश्रो मात्रा दिने बेला टाइफाइड विरुद्धको खोप पनि दिइने भट्टले बताए ।