Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । चैते नवरात्रीको अवसरमा सो मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु हुने र चैत्राष्टमीका दिन बलि दिने चलन रही आएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । 

सप्तमीका दिन रांगा बाध्ने र अष्टमीका दिन बलि दिने चलन रही आएको उनले बताए । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरमा परापूर्वकालदेखि बलि दिने चलन रही आएको छ । त्यसैले चैते नवरात्रीमा पनि बलिसहित पूजाआजा हुने गरेको छ ।’

Atrya hospital

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्षको आश्विन शुक्ल अष्टमी र चैत्राष्टमीमा बलि सहित पूजाआजा हुने गरेको छ । मन्दिरमा दर्शनार्थीहरु दर्शनका लागि टाढाटाढाबाट समेत आउने गरेका अध्यक्ष बोहराले बताए । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरको दर्शनका लागि नेपालका मात्रै सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।’
आज र भोली मन्दिरमा जात्रा हुने र सो जात्रामा दर्शनार्थीहरुको भीड लाग्ने गरेको स्थानीय रमेश बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

यस्तै चैत्राष्टमीको अवसरमा जिल्लाका अन्य शक्तिपीठहरुमा पनि बलिसहित पूजाआजा हुने गरेको छ । त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी भगवती मन्दिर लगायतका शक्तिपीठहरुमा बलि सहित पूजाआजा हुने गरेको स्थानीयहरुले बताएका छन् । यस्तै विभिन्न मठमन्दिरहरुमा पनि चैत नवरात्रीको अवसरमा पूजाआजा हुने गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update