Sagun Khabar
बैतडीमा पनि मनाइयो स्वास्थ्य बीमा दिवस 

बैतडी – छैटौं स्वास्थ्य बीमा दिवस बैतडीमा पनि मनाइएको छ । स्वास्थ्य बीमा बोर्ड बैतडीको कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रमुख जमन बडालले बताए । स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

दिवसको अवसरमा स्वास्थ्य बीमाले पुर्याउने सहयोगका बारेमा सरोकारवालाहरुबीच छलफल समेत भएको छ । यस्तै स्वास्थ्य बीमाले आजै सार्वजनिक गरेको एच आइ बी नामक मोबाइल एपका बारेमा समेत छलफल भएको छ । सो एप डाउनलोड गरेमा ग्राहकहरुले आफ्नो स्वास्थ्य बीमाको बारेमा सबै जानकारी प्राप्त गर्न सक्ने बडालले बताए । स्वास्थ्य बीमा गरे बाफत कहाँ, कहिल, कसरी उपचार सेवा पाइन्छ भन्ने बारेमा मोबाइल एपमा जानकारी राखिएको उनले बताए । 

Atrya hospital

बैतडीमा २२ हजार ९३३ जना स्वास्थ्य बीमामा आवद्ध भएको तथ्यांक छ । यो मध्ये १८ हजार १८५ जना जेष्ठ नागरिक र २ हजार ५ सय २९ जना अन्य नागरिक रहेका बताइएको छ । 

जेष्ठ नागरिक, एचआइभी संक्रमित, अपांगता भएका व्यक्ति, एमडीआर टीबी भएका व्यक्तिहरुको नेपाल सरकारले निशुल्क रुपमा स्वास्थ्य बीमा गर्दै आएको छ । स्वास्थ्य बीमा गरेका नागरिकलाई १ लाख रुपैंया बराबरको उपचार निशुल्क गर्ने गरिएको बडालले बताए । 

३ हजार ५ सय बराबर प्रिमियम तिरेमा १ लाख बराबरको उपचार निशुल्क हुने उनले बताए । ५ जना सम्मको बीमा ३ हजार ५ सय प्रिमियम तिरेमा गर्ने गरिएको बडालले बताए । 

स्वास्थ्यबीमामा आवद्ध नागरिकको सूचीकृत स्वास्थ्य संस्था र अस्पतालहरुमा निशुल्क उपचार हुने गरेको छ । आर्थिक अभावमा उपचारमा पहुँच पुग्न नसकेका नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि स्वास्थ्यबीमा कार्यक्रम लागू गरिएको बताइएको छ । 

दर्ता सहयोगीहरुमार्फत स्वास्थ्य बीमा गर्ने कार्यक्रम जारी रहेको स्वास्थ्य बीमा बोर्ड बैतडीले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update