बैतडी- नेकपा एमाले बैतडीका युवा नेता राजेन्द्र चन्दले पार्टी परित्याग गरेका छन् । एउटा पत्र जारी गर्दै युवा नेता चन्दले नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग गरेको जनाएका छन् ।
चन्द एमालेका जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्यसमेत हुन् । जिल्लाको पञ्चेस्वर गाउँपालिका ५ गिरेगडाका घर भएका युवा नेता चन्दले एमालेभित्र व्यक्तिवादी चरित्र देखिएकाले पार्टीबाट राजिनामा दिएको बताए छन् । विधिविधान बिपरितका अलोकतान्त्रीक क्रियाकलाप पार्टी भित्र देखा परेकाले सो विरुद्ध स्वतन्त्र भएर लड्न पार्टी परित्याग गरेको उनले बताए ।
आसन्न स्थानीयतहको निर्वाचनमा पञ्चेश्वर गाउँपालिकाको अध्यक्षका लागि उम्मेद्वारी दिएका चन्दले अब स्वतन्त्र भएर बस्ने बताएका छन । स्वतन्त्र बाट चुनाव लड्ने विषयमा अहिलेनै निर्णय नभएकाले साथिहरु संगको छलफल पछि मात्रै हुने बताएका छन् ।
पछिल्लो समय एमालेका युवा नेताहरु पार्टी परित्याग गरेर स्वतन्त्रबाट उम्मेद्वारी दिन थालेका छन् । शुक्रबार एमालेका युवा नेता सन्तोष प्रकाश जोशिले पनि पार्टी जनभावना बिपरित गएको भन्दै पार्टी परित्याग गरेर स्वतन्त्रबाट चुनाव लड्ने उदघोष गरेका छन् ।