बैतडी- नेपाली काँग्रेस बैतडीका उपसभापति खगेन्द्र धामीले सिगास गाउँपालिकामा विकासका कामहरु सन्तोषजनक नभएको बताएका छन् । सगुन अनलाइन टिभीको चुनाव बिशेष कार्यक्रममा बोल्दै उनले यातायात र बिधुतलाई प्राथमिकतामा राखेर सिगास गाउँपालिकाले काम गरेर पनि सो कामहरु सन्तोषजनक नभएका बताएका हुन् ।
आसन्न स्थानीयतहको निर्वाचनमा गाउँपालिकाबाट अध्यक्ष पदका आकांक्षी समेत रहेका धामीले पालिका भित्र सडक खनिएका ठाउँमा गाडी नचलेका र पोल गाडीएका ठाउँमा बिजुली नबलेको बताएका हुन् । उनले भने ʻसिगासमा सडक खनिएका छन्, गाडी चलेको छैन्, बिजुलीका पोल गाडीएका छन् बत्ती बलेको छैन्, यो विकासको कुनै अर्थ हुदैन्, पालिकामा विकासका कामहरु सन्तोषजनक छैनन्।’
गाउँपालिकाबासी पनि असन्तुष्ट रहेका भन्दै धामीले सिगास गाउँपालिकामा समाजिक विकास समेत नभएको जिकिर गरे । सिगास गाउँपालिका घर भएका सभापति धामीले दलित, महिला, अपांगता भएका नागरिकहरुले राहत नपाएको भन्दै निर्माणका नाममा नागरिकले दुखमात्रै पाएको बताएका छन् । उनले भने ‘समाजिक विकास हुनु पर्ने थियो, त्यो भएको छैन् दलित, महिला, अपांगता भएका नागरिकरुले राहत पाएका छैनन ।’ यस्तै उनले आफु सिगास गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । पालिका भित्र शिक्षा , स्वास्थ्य क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो ।