बैतडी- बैतडीको पाटन नगरपालिकाका ३ ओटा वडालाई पूर्ण रुपमा सिल गरिएको छ । ती वडाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वडाहरुलाई पूर्ण रुपमा सिल गर्ने निर्णय भएको हो ।
आइतबार वडा नं ८मा बसेको सर्वपक्षीय बैठकले तीनओटै वडालाई जेठ १७ गते सम्मका लागि सिल गर्ने निर्णय भएको पाटन नगरपालिका वडा नं ९का वडा अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए ।
आइतबार मात्रै पाटन नगरपालिका वडा नं ८ का ३४ बर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भएपछि तीनओटै वडालाई पूर्ण रुपमा सिल गर्ने निर्णय भएको वडा नं ८ का वडा अध्यक्ष पृथ्वीराज पन्तले जानकारी दिए ।
कोरोना संक्रमणकै कारण ज्यान जाने थालेपछि वडाहरु पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको हो । सिल गरिएको अवधिमा एक वडाबाट अर्को वडामा जान पाइने छैन् भने वडाभित्र रहेका सबै बजारहरु पूर्ण रुपमा बन्द रहनेछन् ।