बैतडी – बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीलाई नेपाली काँग्रेस बैतडीले स्पष्टीकरण सोधेको छ । एक महिलालाई अश्लिल गाली गरेको आरोप लागेपछि उनलाई स्पष्टीकरण सोधिएको हो । कांग्रेसले सात दिनभित्र जवाफ दिन धामीलाई स्पष्टीकरण पत्रमा भनेको छ ।
के कति कारणले यस्तो गर्नु भएको हो ? यदि गर्नु भएको होइन भने सात दिन भित्र स्पष्ट र लिखित रुपमा चित्त बुझ्दो जवाफ जिल्ला कार्यसमितिमा पेश गर्न भनिएको छ । समयमै लिखित रुपमा स्पष्टीकरण नबुझाएमा नेपाली कांग्रेसको विधान अनुसार कारवाही हुने समेत उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष धामीले कांग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मी शाह चन्दलाई अश्लील शब्दमा गालीगलौज गरेको अडियो बाहिरएको थियो । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष पदकी आकांक्षी रहेकी चन्दलाई धामीले गालीगलौज गरेका थिए । आफूमाथि गालीगलौज गरेर पारिवारिक जीवनमा समेत आँच आउने काम गरेकाले धामीमाथि कारवाहीका लागि चन्दले नेपाली कांग्रेस जिल्ला कार्यसमिति निवेदन दिएकी थिइन् ।
चन्दको निवेदन अनुसार धामीलाई स्पष्टीकरण सोधिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । यसअघि सोही प्रकरणको छानबीनका लागि एक छानबीन समेत गठन गरिएको छ ।
कांग्रेस नेता रमेश बोहराको संयोजकत्वमा गठन गरिएको समितिमा नेपाली कांग्रेस प्रदेश क्षेत्रीय समिति (क)का सभापति विष्णु भट्ट र जिल्ला कार्यसमिति सदस्य छविराज जोशीलाई सदस्य राखिएको छ । सो समितिले आफ्नो काम गरिरहेको बताएको छ ।