बैतडी –आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने बिषयमा गठबन्धन दलहरु अलमलमै देखिएका छन् । बैतडीमा तीन सदस्यीय जिल्ला संयन्त्र गठन गरिएको भएपनि थप छलफल हुन सकेको छैन् ।
गठबन्धन दलहरुमध्येको मुख्य पार्टी नेपाली कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने बताइरहेको छ । स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्नेमा आफूहरु तयार रहेको नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्दले बताए । उनले भने ‘हामीले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्छौं । स्थानीय पार्टी समितिको निर्णय अनुसार चुनावी तालमेल हुन सक्छ ।’
जिल्लाको दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चुनावी तालमेल गर्ने बिषयमा गठबन्धन दलका स्थानीय नेताहरु सहमत भएको सभापति चन्दले दाबी गरे । यी दुई स्थानीय तहबाहेक अन्य तहमा कसरी जाने भनेर छलफल नभएको उनले बताए । पुर्चौंडीको हकमा चुनावी तालमेल नहुने चन्दले बताए ।
यता नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले भने सहअस्तित्व र केन्द्रिय निर्देशन अनुसार चुनावी तालमेल हुने बताएका छन् । स्थानीय आवश्यकता भन्दा पनि केन्द्रिय निर्देशन अनुसार प्याकेजमै तालमेल हुनुपर्ने उनले बताए । उनले भने ‘चुनावी तालमेलका बिषयमा हामी जिल्लामा बसेर छलफल गर्छौं । अहिले सम्म कसरी जाने भन्ने बिषयमा छलफल भएको छैन् । चुनावी तालमेल सहअस्तित्वका आधारमा हुन्छ ।’
नेकपा एकीकृत समाजवादी बैतडीका अध्यक्ष महादेव भट्टले पनि चुनावी तालमेलका बिषयमा नीतिगत सहमति भएको बताए । तर जिल्लामा कसरी जाने भन्ने बिषयमा छलफल हुन नसकेको उनले बताए । उनले भने ‘स्थानीय तहको निर्वाचनमा मिलेर जाने भन्ने सैद्धान्तिक सहमति भएको छ तर कसरी जाने भन्ने बिषयमा जिल्लामा छलफल गरेर टुंगो लगाउँछौं ।’