बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षका लागि ७ जना अकांक्षी देखिएका छन् । आसन्न स्थानीयतहको निर्वाचनमा अध्यक्ष पदकाका लागि ७ जना आकांक्षी देखिएका हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति एवं अहिलेका सुर्नया गाउँपालिका अध्यक्ष बिरबहादुर विष्ट, जिल्ला सहसचिव दिपेन्द्र चन्द, वडा नं १ का अध्यक्ष गजेन्द्र बहादुर चन्द, क्षेत्रीय प्रतिनिधि भरत मडै, प्रताप राम लुहार, राजेन्द्र विष्ट र बिर सिंह साउदले अध्यक्षका लागि अकांक्षा देखाएका नेपाली काँग्रेस जिल्ला कार्यसमति सदस्य चन्द्र सिँह ऐरले जानकारी दिए ।
सुर्नयामा अध्यक्षका धेरै अकांक्षी देखिए पछि छनोटमा सकस परेको छ । गाउँ कार्यसमितिले सर्बसम्मत चयन गर्न सकेको छैन् भने जिल्ला कार्यसमितिमा पनि अकांक्षीका नाम सिफारिस हुन नसकेका हुन् । सुर्नयामा ७ जना अध्यक्षका आकांक्षी मध्ये गजेन्द्र चन्द, दिपेन्द्र चन्द र बिर बहादुर विष्ट बलिया उम्मेद्वारका रुपमा रहेका छन् ।
अहिले सम्म सहमति जुट्न नसक्दा यी तीनै जना बिच अध्यक्षको टिकटका लागि चुनाव हुन सक्ने सम्भावना देखिएको स्रोत बताउँछ । तर चुनाव नगरेरै सर्बसम्मत उम्मेद्वार छनोटका लागि सघंर्ष गरिराखेका काँग्रेसका कतिपय युवानेताहरुले बताएका छन् । पुरानै अध्यक्ष दोहोरिनु हुँदैन भन्ने पक्षमा जिल्ला सचिव एवं अध्यक्षका दावेदार दिपेन्द्र चन्द रहेका बताइएको छ ।
बिरबहादुर विष्टले गजेन्द्र चन्दलाई सर्मथन गरेपछि दिपेन्द्र चन्द पनि सर्मथन गर्ने एक नेताले बताए ।यस्तै उपाध्यक्षमा पनि नेपाली काँग्रेसबाट तीन जनाले दाबी गरेका बताइएको छ । २०७४ सालमा चुनाव लडेका भागरथी बोहरा, नेपाली काँग्रेसकी जिल्ला कार्यसमिति सदस्य मञ्जु बोहरा महरा, मनोनित जिल्ला कार्यसमिति सदस्य कलावती जोशी विष्टले उपाध्यक्षमा दाबी गरेका जिल्ला कार्यसमति सदस्य ऐरले बताए ।
यस्तै नेपाली काँग्रेसले सुर्नया गाउँपालिकाको वडा १, ४, ६, ७ र ८ मा सर्बसम्मत वडा अध्यक्ष उम्मेद्वारको टुंङ्गो लगाइसकेको बताएको छ । पाँच ६ गते भित्र सुर्नयामा उम्मेद्वारको छिनोफानो भइसक्ने नेपाली काँग्रेस बैतडीले जनाएको छ ।