बैतडी- माध्यमिक शिक्षा परीक्षा एसईईमा बैतडीबाट ५४ सय बढी विद्यार्थी सहभागी हुने भएका छन् । बैशाख ९ गते बाट शुरु हुने यस वर्षको एसईइ परीक्षामा जिल्लाका ५ हजार ४ सय ३१ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र प्रशाद अवस्थीले जानकारी दिए ।
उनका अनुसार नियमित तर्फ, ५ हजार १ सय ८१ जना, प्राविधिक तर्फ १ सय ८१ जना र ग्रेडवृद्धि तर्फ ६७ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् । परीक्षा सञ्चालनका लागि २५ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका जनाउदै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमित तर्फको परीक्षा दिएको विद्यालयमा हुने बताए ।
गत विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिने भएपनि अहिले ग्रेडवृद्धि गर्ने परीक्षार्थीहरुको परीक्षा नियमितको परीक्षा दिएकै विद्यालयमा हुने उनले बताए । यस्तै माध्यमिक शिक्षा परीक्षा एसईईका लागि बैतडीमा केन्द्राध्यक्षहरुलाई नियुक्त गरिसकेको छ ।
नियुक्त गरिएका केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।परीक्षालाई निष्पक्ष,मर्यादित र व्यवस्थीत बनाउन उनिहरुका लागि यहि बैशाख ६ गते ८ बजे अभिमुखीकरण कार्यक्रम राखिको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।