बैतडी- बैतडीमा पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार आजदेखि जिल्लाका ६ महिना देखि ५ वर्षसम्मका २३ हजार ८ सय ७२ बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षका २१ हजार ३ सय २९ बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै छ ।
यो अभियान भोल सम्म जारी रहने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ’ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइ लागिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
भिटामिन ‘ए’ कार्यक्रमका लागि जिल्लामा स्वास्थ्य स्वयंसेविका परिचालन गरिएका छन् । नजिकैको वितरण केन्द्रमा गइ भिटामिन ’ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय बैतडीले अभिभावकलाई आग्रह गरेको छ । भिटामिन ’ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ’ए’ सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ’ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।