बैतडी –देशभर जस्तै आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि बैतडीमा पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । आज जिल्लाभरीका दशओटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका बैतडीका मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिए ।
स्थानीय तहका केन्द्रहरुमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भने जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको कार्कीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट स्थानीय तह निर्वाचन सम्बन्धि कामकाज समेत सुचारु भईसकेका कार्कीले बताए ।
स्थानीय तहका केन्द्रहरुमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका र ती कार्यालयहरुबाट निर्वाचन सम्बन्धि सम्पूर्ण कामकाजहरु सञ्चालन भईरहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बैतडीमा जिल्ला अदालतका न्यायधिश तिलकबहादुर कार्कीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । पञ्चेश्वर गाउँपालिकामा धर्मानन्द जोशी, सुर्नया गाउँपालिकामा सिद्धराज जोशी, दोगडाकेदार गाउँपालिकामा गोकुलप्रसाद बोहरा, डिलाशैनी गाउँपालिकामा विष्णुदत्त भट्ट, शिवनाथ गाउँपालिकामा रामबहादुर हमाल र सिगास गाउँपालिकामा प्रेमराज खरेल निर्वाचन अधिकृतको रुपमा खटिएका छन् ।
यस्तै पुर्चौंडी नगरपालिकामा केवलीराम अधिकारी, मेलौली नगरपालिकामा जनकसिंह बोहरा र पाटन नगरपालिकामा ईश्वरीदत्त जोशी निर्वाचन अधिकृतको रुपमा खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिकाको हकमा भने मुख्य निर्वाचन अधिकृतले नै कामकाज गर्ने बताइएको छ ।