बैतडी – सुख्खायामको शुरुवातसंगै बैतडीका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनहरुमा डढेलो लागेको छ । लगातारको खडेरी वनहरुमा डढेलो लागेको स्थानीयहरुले बताएका छन् । जिल्लाका सबै जसो ठाउँका वनहरुमा डढेलो लागेको छ । करीब एक हप्ता अघिदेखि वनहरुमा डढेलो सल्किएपनि डढेलो नियन्त्रणमा कसैको ध्यान जान सकेको छैन् ।
जिल्लाको पाटन नगरपालिका र सिगास गाउँपालिकाका एक दर्जन बढी वनमा आगलागि भएको स्थानीयहरुले बताएका छन् । सिगास गाउँपालिकाकाको श्री केदार सामुदायिक वन, भुमिराज सामुदायिक वन, सेला सामुदायिक लगायतका सामुदायिक वनमा आगो लागेको स्थानीय नरेन्द्र बहादुर ऐरले जानकारी दिए । वन जंगलमा लागेको आगोले वायुप्रदुषण बढेकाले गाउँमा बस्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए । डढेलोकै कारण खानेपानीका पाइप समेत पोलिएको उनले बताए । उनले भने ‘वनहरुमा डढेलो लागेका कारण वातावरण नै धुम्म परेको छ । जताततै धुँवा छ ।’
वनहरुमा डढेलो लागेका कारण मानवको स्वास्थ्यमा समेत विभिन्न खालका समस्याहरु देखा परेका अर्का स्थानीय राजेन्द्रबहादुर ऐरले बताए । उनले भने ‘डढेलोका कारण निस्कने धुँवाले स्थानीयहरुमा आँखा समस्या देखिएको छ ।’
स्थानीयहरुमै सचेतनाको अभावका कारण वनजंगलमा डढेलो लाग्ने गरेको छ । आगलागि भएमा घाँस पलाउँछ भन्ने गलत मानसिकताका कारण वनजंगलमा डढेलो बढ्दै गएको हो । डढेलोका कारण स–साना बोटविरुवाहरु जलेर नष्ट भएका छन् ।
हरेक बर्ष वनहरुमा लाग्ने डढेलोका कारण पानीका मूहान समेत सुक्दै गएका छन् । सुख्खायाममा जहिले पनि खानेपानीको अभाव हुने गरेको स्थानीयहरुले बताएका छन् ।
वनमा फैलिएको आगो बस्तीमा समेत पस्न सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् । वनहरुमा आगो लागेको हप्तौ भएपनि सम्बन्धीत निकायले भने नियन्त्रणमा चासो नदिएको स्थानीयहरुको गुनासो छ । हजारौँ हेक्टर वनजंगल डढेलोले सखाप परेको भएपनि डिभिजन वन कार्यालयले कुनै चासो नदिएको आरोप लागेको छ ।
यता डिभिजन वन कार्यालय बैतडीले भने सिगास, पाटन र पुर्चौडीका केहि वनमा आगो लागेको भएपनि नियन्त्रण आइसकेको बताएको छ । आगो नियन्त्रणका लागि वन समिति र सव डिभिजनहरुलाई पनि सक्रिय बनाइएको र कुनै ठाउँमा आगो नियन्त्रणमा नआए जिल्लाको टोली पनि खटाइने डिभिजन वन कार्यालय बैतडीका प्रमुख भिमप्रसाद कँडेलले बताए ।