बैतडी – बैतडीको पाटन नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बनेका नारायण भण्डारीले ५ बर्षमा पाटनको मूहार फेर्ने दाबी गरेका छन् । सगुन अनलाइन टिभीको निर्वाचन बिशेष कार्यक्रममा बोल्दै भण्डारीले बृहत रुपमा समाज सेवा गर्नका लागि आफू राजनीतिमा होमिएको बताए । उनले भने ‘नागरिकले सेवा गर्ने अवसर दिए भने म पाटनको मूहार फेर्ने काममा लाग्छु । शिक्षण पेशाको अनुभव सहित राजनीतिमा आएको छु । सबैले सहयोग गर्छन् भन्ने विश्वास छ ।’
राजनीतिमा लागेका मान्छेहरुप्रति पछिल्लो समयमा प्रश्न तेर्सिरहेकाले आफूले त्यसो हुन नदिने उनले बताए । उनले भने ‘अहिले राजनीतिमा लागेका मान्छेहरुलाई हेर्ने दृष्टिकोण राम्रो छ्रैन् । म त्यो दृष्टिकोणमा परिवर्तन ल्याउने हिसाबले काम गर्छु ।’
आफूले नेतृत्व गर्ने अवसर पाएमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा परिवर्तन ल्याउने भण्डारीले दाबी गरे । उनले भने ‘हामीले नेतृत्व गर्ने अवसर पायौं भने हरेक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था गर्छौं ।’
नगरपालिकाको वर्तमान नेतृत्व नमूनायोग्य काम गर्न नसकेको भण्डारीले आरोप लगाए ।
उम्मेदवार भण्डारीसंग गरिएको विस्तृत कुराकानी तलको लिंक खोलेर हेर्न र सुन्न सकिनेछ ।