बैतडी –नेपाली कांग्रेस बैतडीको कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न निर्णय पारित गर्दै बिहीबार बैठक सम्पन्न भएको कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
बैठकले जिल्लाका १० ओटै स्थानीय तहमा पार्टीको अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । जिल्ला सचिव देवराज जोशीको संयोजकत्वमा जिल्लास्तरीय अनुशासन समिति गठन गरेको कांग्रेसले पालिका तहमा पनि अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो ।
यस्तै आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर रमेश बोहराको संयोजकत्वमा १ सय १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको सचिव जोशीले बताए । सो समितिको सहसंयोजकमा प्रदेश क्षेत्रीय कार्यसमिति (क)का सभापति विष्णुप्रसाद भट्ट र प्रदेश क्षेत्रीय कार्यसमिति (ख)का सभापति शिवराज भट्टलाई राखिएको छ ।
यस्तै सभापति चतुरबहादुर चन्दको अध्यक्षमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत भएको सचिव जोशीले बताए ।
यस्तै पार्टीको विधान अनुसार १३ सदस्यीय संसदीय बोर्ड गठन गरिएको छ । सभापति चन्द अध्यक्ष रहेको बोर्डमा उपसभापति खगेन्द्रसिंह धामी र बीरबहादुर बिष्ट सदस्य रहेका छन् । यस्तै सचिव देवराज जोशी र प्रेमबहादुर चन्द बोर्डको सचिव रहने व्यवस्था रहेको छ । यस्तै कोषाध्यक्ष चक्रबहादुर चन्द, सहसचिव दिपेन्द्र चन्द र दशरथ चाड सदस्य रहेका छन् । यस्तै सो समितिमा ५ जनालाई सदस्यमा मनोनित गरिएको छ । पूर्व पार्टी सभापति शिवराज भट्ट, पूर्व पार्टी कोषाध्यक्ष रमेश पाण्डेय, जिल्ला कार्यसमिति सदस्य कर्ण राना, धिरेन्द्र बम र बिमला लुहारलाई सदस्यमा मनोनित गरिएको सचिव जोशीले बताए ।
संसदीय बोर्डले टिकटको टुंगो लगाउन बाँकी रहेका वडा र गाउँपालिकाको उम्मेदवारको टुंगो लगाउने छ भने नगरपालिकाको लागि उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिश गर्नेछ ।