बैतडी – आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले बैतडीका ८ ओटा पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । डिलाशैनी र सिगास गाउँपालिका बाहेकका सबै पालिकामा उम्मेदवारको टुंगो लागिसकेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
मेलौली नगरपालिकाको उपमेयर, दोगडाकेदार र सुर्नया गाउँपालिकामा पनि उपाध्यक्ष पदको टुंगो लाग्न बाँकी रहेको भण्डारीले बताए । सुर्नयामा एमालेले राप्रपासंग चुनावी तालमेल गर्ने तयारी गरेकाले उपाध्यक्ष राप्रपालाई दिने सम्भावना बलियो रहेको छ ।
पञ्चेश्वरमा एमालेले पुरानै अनुहार दोहर्याउने भएको छ । अध्यक्ष पदमा गोरखबहादुर चन्द र उपाध्यक्ष पदमा बीना भट्टलाई उम्मेदवार बनाइएको छ । यस्तै शिवनाथ गाउँपालिकामा अध्यक्ष पदका लागि हजारी साउँद र उपाध्यक्ष पदका लागि शकुन्तला साउँदलाई उम्मेदवार बनाइएको छ ।
यस्तै मेलौली नगरपालिकामा मेयर पदका लागि जगदीश नायकलाई उम्मेदवार बनाएको एमालेले उपमेयर पदका उम्मेदवारको नाम सार्वजनिक गरेको छैन् । यद्यपि चन्द्रकला साउँदलाई उपमेयरको उम्मेदवार बनाउने सम्भवाना बलियो रहेको श्रोतले जनाएको छ ।
पाटन नगरपालिकामा मेयर पदका लागि नारायण भण्डारी र उपमेयर पदका लागि हरु भट्ट( हरिना)लाई उम्मेदवार बनाइएको छ । यस्तै दशरथचन्द नगरपालिकामा मेयर पदका लागि पुष्करराज जोशी (लख्खाभाइ) र उपमेयर पदका लागि सरस्वती नेपालीलाई उम्मेदवार बनाइएको छ । पुर्चौंडी नगरपालिकामा मेयर पदका लागि कर्णबहादुर कुँवर र उपमेयर पदका लागि जानकी साउँदलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।
दोगडाकेदार गाउँपालिकामा वर्तमान पालिका अध्यक्ष चक्र कार्कीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले उपाध्यक्ष पदको उम्मेदवार भने टुंग्याएको छैन् । उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष पार्वती ऐरी कार्की र हेमा भट्ट कपाडी आकांक्षी देखिएका छन् ।
सुर्नया गाउँपालिकाको अध्यक्ष पदका लागि अम्मर कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले उपाध्यक्ष पद राप्रपालाई दिएर चुनावी तालमेल गर्ने तयारी गरेको छ ।
सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाको उम्मेदवारी भने टुंगो लागि नसकेको उपसचिव भण्डारीले बताए । डिलाशैनीमा अध्यक्ष पदका लागि उकेन्द्र बोहरा, अक्कल राना र प्रेमराज भट्ट आकांक्षी छन् भने उपाध्यक्ष पदका लागि पार्वती राना भण्डारी, गीता राना र दीपा राना आकांक्षी देखिएका छन् ।
सिगास गाउँपालिकमा जस्बीर बोहरा अध्यक्ष र धाना धामी उपाध्यक्ष पदका उम्मेदवार हुन सक्ने एमाले श्रोतले जनाएको छ । यद्यपि सिगासका उम्मेदवारको नाम पनि सार्वजनिक गरिएको छैन् ।