Sagun Khabar
बैतडीमा कांग्रेसलाई उम्मेदवार छान्नै सकस 

बैतडी – आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने दिन नजिक आएपनि बैतडी कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । अधिकांश वडामा सर्वसम्मत उम्मेदवार छनौट गरेको कांग्रेसले पालिका तहको उम्मेदवारको टुंगो भने लगाउन नसकेको हो । 

जिल्लाको दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुर्चौंडी नगरपालिका बाहेक अन्य स्थानीय तहमा उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । उम्मेदवारका आकांक्षी बढी भएकाले उम्मेदवारको टुंगो लगाउन नसकिएको सचिव जोशीले बताए । उनले भने ‘हाम्रो पार्टीमा आकांक्षी साथीहरु धेरै छन् । ती मध्ये हामी उत्कृष्ट उम्मेदवार छान्ने छलफलमा छौं ।’

Atrya hospital

जिल्लाको दोगडाकेदार गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसंग गठबन्धन गरेको कांग्रेसले अध्यक्ष पदका लागि देवराज जोशीलाई अघि सारेको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा पनि सत्तारुढ दलसंग गठबन्धन गरेको कांग्रेसले रमेशसिंह भण्डारीलाई अध्यक्ष पदका लागि अघि सारेको छ ।

यस्तै पुर्चौंडी नगरपालिकामा मेयर पदका लागि दीपकबहादुर बमलाई अघि सारेको कांग्रेसले उपमेयर पदको उम्मेदवारको भने टुंगो लगाउन सकेको छैन् । 

जिल्लामा उम्मेदवारको टुंगो लगाउन सकस भएपछि पार्टी सभापति चतुरबहादुर चन्द छलफलका लागि धनगढी गएका छन् । पार्टीको प्रदेश समितिसंग छलफलका लागि सभापति चन्द धनगढी गएका सचिव जोशीले पुष्टि गरे । 

भोलिसम्म सबै पालिका र वडाका उम्मेदवारको टुंगो लाग्ने सचिव जोशीले दाबी गरे । पार्टीभित्र सबैलाई मान्य हुने हिसाबले टिकट वितरण हुने जोशीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update