बैतडी –बैतडीमा सत्तागठबन्धन दलहरुले चुनावी तालमेल गर्ने भनेका पालिकामा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । उम्मेदवारको मनोनयन गर्ने दिन नजिक आउँदा समेत गठबन्धन दलहरुले उम्मेदवारको टुंगो लगाउन नसकेका हुन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरुले ती पालिकामा उम्मेदवार छान्न नसकेका हुन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कांग्रेसलाई अध्यक्ष पद दिने र डिलाशैनीमा माओवादी केन्द्रलाई अध्यक्ष पद दिने सहमति भएपनि वडाका उम्मेदवारमा दलहरुबीच सहमति हुन सकेको छैन् ।
कांग्रेसले पञ्चेश्वरमा रमेशसिंह भण्डारी र दोगडाकेदारमा देवराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । माओवादी केन्द्रले डिलाशैनीमा कसलाई अध्यक्ष पदको उम्मेदवार बनाउने भन्ने अझै निर्णय गर्न बाँकी रहेको छ । सो पालिकामा उपाध्यक्ष पदको उम्मेदवार कांग्रेसको भागमा परेपनि कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागेको छैन् ।
सत्तागठबन्धन दलहरुबीच उम्मेदवार छनौटका बिषयमा छलफल जारी रहेकाले भोलि सम्म सबै उम्मेदवारको टुंगो लाग्ने माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
वडा तहदेखि नै कसरी गठबन्धनका उम्मेदवार चयन गर्ने भनेर छलफल भईरहेको र छलफल अन्तिम चरणमा पुगेको नेपाली कांग्रेसका सचिव देवराज जोशीले बताए ।