बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गर्ने भएका छन् । दुवै दलले अध्यक्ष, उपाध्यक्ष र आठओटै वडामा दुई दलीय गठबन्धनका उम्मेदवार खडा गर्ने नेकपा माओवादी केन्द्रका सुर्नया इन्चार्ज स्वेता भट्टले बताइन् ।
सुर्नयामा दुई दलीय गठबन्धनबाट एकीकृत समाजवादीका नेता नरेन्द्र बिष्टलाई अध्यक्षको उम्मेदवार र माओवादी केन्द्रकी सुर्नया इन्चार्ज स्वेता भट्टलाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।
माओवादी केन्द्रको भागमा परेको उपाध्यक्ष पदको लागि पार्टीभित्र व्यापक छलफल गरेर आफूलाई उपाध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय भएको भट्टले बताइन् ।
माओवादी केन्द्रको सुर्नया इन्चार्ज रहेकी भट्ट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रिय सदस्य समेत हुन् ।
पालिकाका ८ ओटै वडामा पनि दुई दलबीच सहमति गरेर उम्मेदवार खडा गर्ने भट्टले बताइन् । वडा अध्यक्षका उम्मेदवारको टुंगो भोलि लगाइने उनले बताइन् ।