बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले बैतडीका विभिन्न स्थानीय तहमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले जिल्लाका स्थानीय तहहरुमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
जिल्लाको दशरथचन्द नगरपालिकामा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एमालेले नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने उद्दघोष गरेको छ । अमर शहीद दशरथचन्दको सम्मान, भ्रष्टाचारमुक्त दनपा हाम्रो अभियान भन्ने नारा प्रतिबद्धता पत्रमा समेटिएको एमालेका नगर इन्चार्ज निर्मल पाण्डेयले जानकारी दिए ।
शहीद दशरथचन्द स्मृति प्रतिष्ठानलाई राष्ट्रिय प्रतिष्ठान बनाउने, अल्पकालिकन र दीर्घकालिन योजना बनाउने प्रतिबद्धता पत्रमा समेटिएको छ । नगरपालिकाको निर्माणको आधार,गुणस्तरीय शिक्षा, आधुनिक शैक्षिक पूर्वाधार भन्ने नारा सहित शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा लगानि गरेर नगरबासीलाई नगर सरकारको अनुभूती दिलाउने एमालेले प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
एमालेबाट मेयरका उम्मेदवार पुष्करराज जोशी(लख्खाभाइ) र उपमेयर पदका उम्मेदवार सरस्वती नेपालीले पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्र अनुसार आगामी दिनमा आफूहरुले काम गर्ने बताए ।
यस्तै एमाले पाटन नगरकमिटिले पनि स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट घोषणा पत्र सार्वजनिक गरेको छ । नमूना नगर, समृद्ध नगर भन्ने नारा सहित घोषणा पत्र सार्वजनिक गरिएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
एमालेले सार्वजनिक गरेको घोषणापत्रमा पाटनमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नागरिकको पहुँच पुग्ने हिसाबले काम गर्ने लगायतका कुराहरु उल्लेख गरिएका छन् ।
यस्तै नगर क्षेत्रभित्र भौतिक विकास, जनशक्ति विकास लगायतका कुराहरुमा पनि बिशेष ध्यान दिने उल्लेख गरिएको छ ।
एमाले पाटन नगर कमिटिले आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रममा एमालेका तर्फबाट मेयरका उम्मेदवार नारायण भण्डारी, उपमेयरका उम्मेदवार हरु भट्ट( हरिना) लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
एमालेले बैतडीका १० ओटै स्थानीय तहमा प्रतिबद्धता तथा घोषणा पत्र सार्वजनिक गरेको एमाले उपसचिव भण्डारीले बताए ।