बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि भोली र पर्सी मनोनयन दर्ताको समय तोकिएको छ । राजनीतिक दलहरु तथा स्वतन्त्र उम्मेदवारहरुले स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको तयारी गरेका छन् ।
बैतडीमा नेपाली कांग्रेसले वैशाख १२ गते दिउँसो १ बजे मनोनयन दर्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेको छ । कांग्रेसले पालिकाका उम्मेदवारको अझै टुंगो लगाउन सकेको छैन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै कांग्रेसले वैशाख १२ गते मनोनयन दर्ताका लागि समय उपलब्ध गराउन माग गरेको हो ।
नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित पत्रमा सबै पालिकामा वैशाख १२ गते कांग्रेसका उम्मेदवारको मनोनयन दर्ताका लागि समय माग गरिएको छ ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकेकाले सो अवधिभित्र उम्मेदवारहरुको मनोनयन दर्ता गरिने बैतडीका मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिए ।