बैतडी –बैतडीको सुर्नयामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी तालमेल गर्ने भएका छन् । एमाले र राप्रपाका नेताहरुले एकआपसमा सहकार्य गर्दै चुनावी तालमेल गर्ने निर्णय गरेको एमालेका जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
सुर्नयामा एमालेका तर्फबाट अम्मरबहादुर कुँवरलाई अध्यक्ष र राप्रपाका तर्फबाट देवबहादुर चन्दलाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने सहमति भएको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।
यस्तै वडा नं २ र ४ मा राप्रपालाई वडा अध्यक्ष दिने र अन्य वडामा एमालेले वडा अध्यक्ष लिने सहमति भएको भण्डारीले बताए । यस्तै वडा नं १ मा दुईदलबीच छलफल गरेर वडा अध्यक्ष पदको उम्मेदवार टुंगो लगाउने सहमति भएको उपाध्यक्षका उम्मेदवार एवं राप्रपाका जिल्ला सचिव देवबहादुर चन्दले बताए ।
यसअघि सुर्नयामा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् । अध्यक्षमा समाजवादीका केन्द्रिय सदस्य नरेन्द्र बिष्ट र उपाध्यक्षमा माओवादी केन्द्रकी सुर्नया इन्चार्ज स्वेता भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
अहिले सम्म कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रने संकेत देखिएको छ । यद्यपि सत्तागठबन्धन दलहरु पनि सकेसम्म चुनावी तालमेलका लागि कसरतमा रहेका बुझिएको छ । सुर्नयामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । वडा नं ५ मा पनि वडा अध्यक्ष पदका उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ ।