बैतडी –कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा निषेधाज्ञाको अवधि थपिएपछि बैंक पनि हप्तामा तीन दिन मात्रै खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डले जारी गरेको आदेशमा जिल्लामा रहेका बैंक तथा बित्तीय संस्थाहरु हप्ताको तीन दिनमात्रै खुला रहने उल्लेख गरिएको छ ।
बैंक खुला रहेको दिन पनि बिहान ७ देखि ९ बजे सम्म मात्रै सञ्चालन हुनेछन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अनुसार राष्ट्रिय वाणिज्य बैंक आइतबार, मंगलबार र बिहीबार बिहान ७ देखि ९ बजे सम्म मात्रै खुला रहने राष्ट्रिय वाणिज्य बैंक बैतडीका शाखा प्रबन्धक पुरुषोत्तम लेखकले बताए ।
बैंकमा पनि भीडभाड हुने भएकाले बैंक तथा बित्तीय संस्थाहरु पनि हप्ताको तीनदिन, दिनको दुई घण्टा मात्रै खोल्न निर्देश गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।