बैतडी –आसन्न स्थानीय तहको चुनावका लागि बैतडीको पाटनमा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलको सम्भावना बढेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाटनमा चुनावी तालमेलको सम्भावना बढेको माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
पाटनमा नेपाली कांग्रेसलाई मेयर पद र नेकपा माओवादी केन्द्रलाई उपमेयर पद दिएर चुनावी तालमेल गर्ने प्रयास अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । यस्तै एकीकृत समाजवादीलाई पनि केही वडामा समेट्न सकिने उनले बताए ।
पाटनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले मेयर पदको उम्मेदवार घोषणा गरिसकेको भएपनि चुनावी तालमेल हुने सम्भावना बढेको चन्दले बताए । पाटनमा आजै उम्मेदवारको टुंगो लाग्ने समेत उनले बताए ।
नेकपा एमालेले भने यसअघि नै मेयर पदका लागि नारायण भण्डारी र उपमेयर पदका लागि हरु भट्ट (हरिना)लाई उम्मेदवार बनाईसकेको छ ।