कैलाली – धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि अभियान्ता गोपाल हमालले मनोनयन दर्ता गरेका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्ता गराउन हमाल बाजागाजा र ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने मूलमन्त्रका साथ हमालले फागुन १९ गते धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए ।
मनोनयन दर्ता गर्दै हमालले बाँडीचुँडी खाने प्रवृतिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए । मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि नलिने घोषणा गरिसकेका छन्। उनले धनगढी उपमहानगरपालिकाको गाडी पनि नचढ्ने घोषणा गरेका छन् । ०७४ सालको चुनावमा पनि हमाल मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए। त्यतिबेला हमाल ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भएका थिए । उनी काँग्रेसका नृपबहादुर वडसंग दुई हजार सात सय मतले पराजित भएका थिए ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अध्यक्षमा बलबहादुर ऐर, ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारीका लागि मनोनयन दर्ता गराएका छन् ।