बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले १० ओटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको टुंगो जिल्लाको संसदीय बोर्डले लगाएको हो भने नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो प्रदेश संसदीय बोर्डले लगाएको हो ।
चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा कांग्रेसले आज मात्रै सबै तहका उम्मेदवारको टुंगो लगाएको हो । जिल्लाको दशरथचन्द नगरपालिकाको मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्द, पाटन नगरपालिकाको मेयरमा गौरसिंह रावल, मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर चन्द र उपमेयरमा पावती बिष्ट र पुर्चौंडी नगरपालिकाको मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुकलाई उम्मेदवार बनाएको छ ।
यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐर, सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहरा, दोगडाकेदार गाउँपालिकाको अध्यक्ष देवराज जोशी, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिको अध्यक्षमा रमेशसिंह भण्डारी र डिलाशैनी गाउँपालिकाको उपाध्यक्षमा भगीरथ बोहरालाई उम्मेदवार बनाइएको छ ।
कांग्रेसले जिल्लाको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सत्ता गठबन्धन दलहरुसंग चुनावी तालमेल गरेको छ । सबै स्थानीय तहमा भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने नेपाली कांग्रेस बैतडीले जनाएको छ ।