Sagun Khabar
स्थानीय तह चुनाव : चुनावी तालमेलले महिला उम्मेदवार ओझेलमा 

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीमा चुनावी तालमेल गर्ने सहमति भएका पालिकाहरुमा महिला उम्मेदवार ओझेलमा परेका छन् । स्थानीय तहका प्रमुख अथवा उपप्रमुख मध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य गरेको भएपनि दलहरुबीच गठबन्धन हुँदा प्रमुख पदमा महिला उम्मेदवार छनौट हुन सकेका छैनन् । दुई दलहरुबीच तालमेल गर्दा महिला उम्मेदवार अनिवार्य नभएपछि महिला उम्मेदवार ओझेलमा परेका हुन् । 

चुनावी तालमेल गरेका पालिकाहरुमा प्रमुख तथा उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार बढी देखिएका छन् । अलग अलग पार्टीबाट उम्मेदवार हुँदा अनिवार्य महिलाको प्रावधान नभएकाले दलहरुले पुरुष उम्मेदवारलाई प्राथमिकता दिएको पाइएको छ । 

Atrya hospital

बैतडीका चुनावी तालमेल भएका स्थानीय तहहरुमा पुरुष उम्मेदवार हाबी भएका छन् । जिल्लाको पाटन नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । सो पालिकामा कांग्रेसको तर्फबाट मेयर र माओवादीको तर्फबाट उपमेयरको उम्मेदवार खडा गरिएको छ । दुवै पदमा पुरुष उम्मेदवार बनाइएको छ । मेयरमा गौरीसिंह रावल र उपमेयरमा कमल बोहरालाई उम्मेदवार बनाइएको छ । 

यस्तै जिल्लाको पञ्चेश्वरमा गठबन्धन दलहरुले अध्यक्षमा कांग्रेसका रमेशसिंह भण्डारी र उपाध्यक्षमा एकीकृत समाजवादीका राजेन्द्र चन्दलाई उम्मेदवार बनाइएको छ । दोगडाकेदार गाउँपालिकामा गठबन्धन दलहरुले अध्यक्षमा कांग्रेसका देवराज जोशी र उपाध्यक्षमा माओवादी केन्द्रका नवराज भट्ट (कुसुम)लाई उम्मेदवार बनाइएको छ । यस्तै डिलाशैनीमा गठबन्धन दलहरुले अध्यक्षमा माओवादी केन्द्रका लोकेन्द्र राना (शितल) र उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरालाई उम्मेदवार बनाइएको छ । 

बैतडीको सुर्नयामा राप्रपासंग चुनावी तालमेल गरेको एमालेले अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा राप्रपाका देवबहादुर चन्दलाई उम्मेदवार बनाइएको छ । 

चुनावी तालमेल भएका पालिकामा महिला उम्मेदवार ओझेलमा परेकाले महिलाको प्रतिनिधित्व पनि कम हुने देखिएको छ । राजनीतिक दलहरुले महिला उम्मेदवारलाई अझै प्राथमिकता दिन नसकेको भन्दै दलहरुको आलोचना समेत भईरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update