बैतडी –बैतडीका १० ओटै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतका कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो ।
बाजागाजा र र्यालीका साथ निर्वाचन अधिकृतका कार्यालयमा पुगेर उम्मेदवारहरुको मनोनयन दर्ता गरिएको एमालेका उपसचिव लोकेन्द्र भण्डारीले बताए । डिलाशैनी गाउँपालिकामा आइतबार र अन्य स्थानीय तहमा सोमबार उम्मेदवारी दर्ता गराएको उनले बताए ।
डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि अक्कल राना र उपाध्यक्ष पदका लागि लीला जोशीको उम्मेदवारी आइतबार नै दर्ता भएको छ ।
बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको मेयरमा पुस्करराज जोशी (लख्खाभाइं) र उपमेयर सरस्वती नेपालीको उम्मेदवारी दर्ता भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् ।
यस्तै जिल्लाको पाटन नगरपालिकाको मेयरमा नारायण भण्डारी र उपमेयरमा हरु भट्टको उम्मेदवारी दर्ता भएको छ । मेलौली नगरपालिकाको मेयरमा जगदीश नायक र उपमेयरमा चन्द्रकला साउँदको उम्मेदवारी दर्ता भएको छ । यस्तै पुरचौंडी नगरपालिकाको मेयरमा कर्णबहादुर कुवँर र उपमेयरमा जानकी साउदले उम्मेदवारी दर्ता गराएका छन् ।
सिगास गाउपालिकाको अध्यक्षमा जस्वीर बोहरा र उपाध्यक्षमा धाना धामीले उम्मेदवारी दर्ता गराएका छन् । शिवनाथ गाउपालिकाको अध्यक्षमा हजारी साउद र उपाध्यक्षमा शकुन्तला साउदले एमालेबाट उम्मेदवारी दर्ता गराएका उपसचिव भण्डारीले बताए ।
सुर्नया गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका लागि अम्मरबहादुर कुवँरले उम्मेदवारी दर्ता गराएका छन् । सुर्नयामा एमालेले राप्रपासंग तालमेल गरेको छ । उसलाई उपाध्यक्ष पद दिइएको छ ।
दोगडाकेदार गाउपालिकाको अध्यक्ष पदमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । दुवैले गएको स्थानीय तहको चुनावमा पनि दोगडाकेदारबाट जितेका थिए । पंञ्चेश्वर गाउँपालिकामा गोरख बहादुर चन्द र बीना भट्टले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले पनि गएको स्थानीय तहको चुनावमा जित हासिल गरेका थिए ।