Sagun Khabar
बैतडीका स्थानीय तहमा कांग्रेसले उम्मेदवारी दर्ता गरायो 

बैतडी –नेपाली कांग्रेसले बैतडीका १० ओटै स्थानीय तहमा आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ । सबै स्थानीय तहमा दिउँसो १ बजेपछि उम्मेदवारी दर्ता भएको नेपाली कांग्रेसका कार्यालय सचिव अनिलकुमार बिष्टले जानकारी दिए । 

जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्दको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । यो नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसका उम्मेदवारले जित हाँसिल गरेका थिए । 

Atrya hospital

जिल्लाको पाटन नगरपालिकाको मेयरमा गौरीसिंह रावलको उम्मेदवारी दर्ता भएको छ । यो पालिकामा माओवादी केन्द्रसंग चुनावी तालमेल गरेको कांग्रेसले उपमेयर माओवादी भागमा पारेको छ । 

यस्तै मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर चन्द र उपमेयरमा पार्वती बिष्टको मनोनयन दर्ता भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिकाको मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुकको उम्मेदवारी दर्ता भएको छ । 

यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहराको उम्मेदवारी दर्ता भएको कार्यालय सचिव बिष्टले बताए । जिल्लाको शिवनाथ गाउँपालिकामा कर्णसिंह साउँदको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष भने माओवादीको भागमा परेको छ । यसैगरी पञ्चेश्वरको गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारीको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष एकीकृत समाजवादीको भागमा परेको छ । 

यस्तै दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीको मनोनयन दर्ता भएको छ भने उपाध्यक्ष माओवादीको भागमा परेको छ । यस्तै डिलाशैनी गाउँपालिकाको उपाध्यक्षमा भगीरथ बोहराको उम्मेदवारी दर्ता भएको छ भने अध्यक्ष माओवादीको भागमा परेको छ । 

जिल्लाको सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐरको उम्मेदवारी दर्ता भएको छ । यो पालिकामा धामीले गएको स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेका थिए । उपाध्यक्षमा पनि कांग्रेसले नै जितेको थियो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update