बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीका स्थानीय तहहरुमा सत्तागठबन्धन दलहरुले कुनै तहमा चुनावी तालमेल गरेका छन् भने कुनै तहमा मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै एक्लाएक्लै मनोनयन दर्ता गराएका छन् ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका,शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सत्तागठबन्धन दलहरुबीच चुनावी तालमेल भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यी स्थानीय तहहरुमा साझा उम्मेदवारको मनोनयन दर्ता गरेका छन् ।
यस्तै दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी तालमेल भएको छ ।
जिल्लाको मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्र पनि मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकामा एक्लै चुनावी मैदानमा उत्रेको छ ।
एकीकृत समाजवादी पनि मेलौली नगरपालिका र सिगास गाउँपालिकामा एक्लै चुनावी मैदानमा उत्रेको छ । एक्लै उम्मेदवारी दर्ता गरेका तहमा पनि मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धन दलहरुबीच सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए ।