बैतडी –बैतडी र दार्चुलाका जिल्लाको अन्तरजिल्ला स्तरीय समन्वय बैठक दार्चुलाको बलाँचमा सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखेर दुवै जिल्लाका अधिकारीबीच मंगलबार समन्वय बैठक सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
अन्तरजिल्ला स्तरीय बैठकमा असल अभ्यास आदानप्रदान, विपद् व्यवस्थापन, अवैध हातहतियार नियन्त्रण, लागू औषध नियन्त्रण, वनपैदावार चोरी निकासी नियन्त्रण, वन्यजन्तु चोरी शिकारी नियन्त्रणका बिषयमा छलफल भएको छ ।
यस्तै स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसंगको समन्वय लगायतका बिषयमा बैठकमा छलफल भएको सूचना अधिकारी भारतीले बताए ।
बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, जिल्लाका चारओटै सुरक्षा निकायका प्रमुख र दार्चुला प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र चारओटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।