बैतडी –नेपाली कांग्रेस बैतडीले स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसारमा तीव्रता दिएको छ । विभिन्न स्थानीय तहमा प्रचारप्रसार समिति गठन गरेर प्रचार अभियानलाई तीव्रता दिइएको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकाको प्रचारप्रसार संयोजकमा पूर्व पार्टी सभापति शिवराज भट्टलाई तोकिएको छ । चुनावमा पार्टीको प्रचारप्रसारलाई व्यवस्थित बनाउन पूर्व सभापति भट्टको संयोजकत्वमा समिति गठन गरिएको नेपाली कांग्रेसका कार्यालय सचिव अनिलकुमार बिष्टले बताए ।
यस्तै जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा पार्टीको सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ । वडा नं १,२,३,७, ९ र ११ का लागि सम्पर्क कार्यालय स्थापना गरिएको कार्यालयका सम्पर्क व्यक्ति दिपेन्द्र बोहराले बताए ।
सम्पर्क कार्यालयको उद्दघाटन गर्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गर्ने दाबी गरे । जिल्लाभरी गठबन्धन भएका र कांग्रेस एक्लै चुनाव लडेका ठाउँमा जित हासिल हुने उनको भनाई छ ।
बैतडीको दशरथचन्द नगरपालिकाको मेयर पदका लागि गजेन्द्रसिंह रावल र उपमेयर पदका लागि कौशिला चन्दलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । उम्मेदवारहरुले अहिले घरदैलो अभियान सञ्चालन गरिसकेको उपमेयरका उम्मेदवार कौशिला चन्दले बताइन् ।