बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उपमेयरकी उम्मेदवार कौशिला चन्दले राजनीति मार्फत समाजसेवा गर्ने बताएकी छिन् । रेडियो निङ्गलाशैनीको कार्यक्रम जनचासोमा बोल्दै चन्दले राजनीतिलाई हेर्ने दृष्टिकोण वर्तमान सन्दर्भमा राम्रो नरहेकाले आफू राजनीतिमा राम्रो काम गर्न आएको बताइन् । उनले भनिन् ‘मतदाताहरुले मलाई उपमेयरमा विजेता गराउनुभयो भने म समाजसेवामा लाग्ने प्रण गर्दछु । राजनीतिबाट लाभ लिनका लागि नभएर समस्यामा परेका नागरिकको समस्या समाधानका लागि मैले उम्मेदवारी दिएकी हुँ ।’
आफूले निर्वाचित भएमा आम महिलाका समस्या समाधानका लागि आफू लागि पर्ने उम्मेदवार चन्दले बताइन् । उनले भनिन् ‘हाम्रो समुदायमा महिलाका समस्या अरुको तुलनामा पेचिला छन् । ती समस्या समाधानका लागि मैले प्रयास गर्नेछु ।’
एकल महिलाहरुको जिविकोपार्जनका लागि विभिन्न कार्यक्रमको योजना आफूसंग रहेको बताउँदै उम्मेदवार चन्दले एक पटक मौका दिन मतदाताहरुलाई आग्रह गरिन् । उनले भनिन् ‘मैले निर्वाचित भएमा एकल महिलाहरुका लागि बिशेष खालको कार्यक्रम ल्याउँछु । उनीहरुलाई जिविकोपार्जनसंग जोड्ने खालका कार्यक्रम ल्याउने मेरो योजना रहेको छ ।’
यस्तै सुत्केरी महिलाहरुको पोषणमा सुधार ल्याउनका लागि कार्यक्रम, असहाय र टुहुरा बालबालिकाहरुको शिक्षामा पहुँच पुर्याउनका लागि कार्यक्रम, महिलाको घरायसी कार्यबोझ कम गर्नका लागि कार्यक्रम ल्याउने आफ्नो योजना रहेको चन्दले सुनाइन् । उनले भनिन् ‘धेरै कुरा भनेर हुँदैन् । मैले आफ्नो योजना बनाएकी छु । नगरबासीले मलाई उपमेयरमा विजय गराउनुभयो भने मत खेर जान दिनेछैन् ।’