Sagun Khabar
समृद्ध पाटन बनाउने योजना रहेको उम्मेदवारहरुको दाबी 

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनमा बैतडीको पाटन नगरपालिकामा विभिन्न दलबाट उम्मेदवार बनेकाहरुले समृद्ध पाटन बनाउने योजना रहेको बताएका छन् । रेडियो निङ्गलाशैनीले शुक्रबार सञ्चालन गरेको बहसमूलक भिडियो अन्तरक्रिया सवाल–जवाफमा बोल्दै उनीहरुले समृद्ध र समुन्नत पाटन बनाउने योजना रहेको दाबी गरेका हुन् । 

कार्यक्रममा बोल्दै एमालेका तर्फबाट पाटनमा मेयरका उम्मेदवार नारायणसिंह भण्डारीले पाटनलाई सांस्कृतिक नगरी बनाउन आफूले पहल गर्ने बताए । पाटन धार्मिक र सांस्कृतिक हिसाबले निकै धनी नगर भएकाले यसलाई व्यवस्थित नगर बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । यस्तै पाटन नयाँ शहर आयोजनाको कामलाई अघि बढाउने आफूहरुको योजना रहेको उनले सुनाए । 

Atrya hospital

यस्तै नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार गौरीसिंह रावलले आफू १० बर्ष विदेशमा बसेको र आफ्नो अनुभव नगर क्षेत्रको विकासमा लगाउने बताए । नगरभित्र शिक्षा, स्वास्थ्य र रोजगारका योजना सहित आफ्नो उम्मेदवारी रहेको उनले बताए । यस्तै सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको समस्या समाधानका लागि वडास्तरमा सहकारी संस्था मार्फत भत्ता वितरण काम गर्ने उनले बताए । 

यस्तै राप्रपाका तर्फबाट मेयरका उम्मेदवार प्रेमबहादुर चन्दले आफूसंग समृद्ध नगर बनाउने योजना रहेकाले आफूले मेयर पदमा उम्मेदवारी दिएको बताएका छन् । घरघरमा रोजगारीको सिर्जना गर्नका लागि आफूसंग योजना रहेको उनले बताए । उनले भने ‘पाटनमै रोजगारी सिर्जना हुने खालका कार्यक्रम सञ्चालन गर्ने योजना म संग रहेको छ । म मेयर पदमा विजयी भए भने २३ घण्टा काम गर्छु ।’

यस्तै कार्यक्रममा माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार कमलसिंह बोहराले आफूले निर्वाचनमा जितेमा बौद्धिक व्यक्तिहरु समेटेर सल्लाहकार समिति बनाउने दाबी गरे । उनले भने ‘पाटनको सर्वाङ्गिण विकासका लागि मैले खेल्नुपर्ने भूमिका खेल्नुछु । सुशासनयुक्त नगरपालिका बनाउने मेरो अभियान रहनेछ ।’

कार्यक्रम सवालजवाफमा नागरिकले राखेका विभिन्न प्रश्नको उम्मेदवारहरुले जवाफ दिएका थिए । नागरिकका जवाफ दिदै उम्मेदवारहरुले समृद्ध पाटन बनाउन आफूहरु तल्लीन रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update