बैतडी – बैतडीको पाटन नगरपालिकाका उम्मेदवारहरुले पाटन नयाँ शहर आयोजनालाई चुनावी एजेण्डा बनाएका छन् । पाटन नयाँ शहर आयोजनाको काम शुरु भएको एक दशक बितिसक्दा समेत आयोजना सुस्त गतिमा सञ्चालन भईरहेको छ ।
सरकारले देशका १० ओटा नयाँ शहर मध्ये पाटनलाई पनि आधुनिक शहर बनाउने घोषणा गरेको थियो । सोही अनुसार नयाँ शहरको केही काम अघि बढेको भएपनि ल्याण्ड पोलिङको काम शुरु हुन सकेको छैन् ।
स्थानीय तहको निर्वाचनमा होमिएका जनप्रतिनिधिहरुले पाटन नयाँ शहरलाई चुनावी एजेण्डा बनाएका छन् । सबै दलका उम्मेदवारहरुले पाटन नयाँ शहरको काम अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । पाटन नयाँ शहरको कामलाई आफूले निर्वाचित भएमा अगाडि बढाउने एमालेबाट मेयरका उम्मेदवार नारायणसिंह भण्डारीले बताए । उनले भने ‘पाटन नयाँ शहरको सुस्त गतिमा रहेको कामलाई म अगाडि बढाउनेछु । हाम्रो पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा समेत यो कुरा उल्लेख गरेको छु ।’
रेडियो निङ्गलाशैनीले आयोजना गरेको सवालजवाफ कार्यक्रममा बोल्दै काँंग्रेसबाट मेयरका उम्मेदवार गौरीसिंह रावलले सबै पक्षसंगको सहकार्यमा पाटन नयाँ शहरको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने ‘पाटन नयाँ शहरको कामलाई अघि बढाउन सबै तहका सरकारसंग आवश्यक छलफल र समन्वय गरेर अगाडि बढ्नेछु । यसका लागि म प्रतिबद्ध छु ।’
यस्तै राप्रपाबाट मेयरका उम्मेदवार प्रेमबहादुर चन्दले पाटन नयाँ शहरको कामलाई अन्य दलले अगाडि बढाउन नसक्ने बताए । उनले भने ‘हामीलाई भोट दिनुहोस हामी पाटन नयाँ शहरको कामलाई अघि बढाउँछौं ।’
यस्तै कांग्रेससंग गठबन्धन गरेर चुनावमा होमिएको माओवादी केन्द्रका उपमेयरका उम्मेदवार कमलसिंह बोहराले सबै पक्षसंगको सहकार्यमा नयाँ शहरको काम अघि बढाउने बताए ।
पाटन नयाँ शहर आयोजनाको कुरा जहिले पनि चुनावको मुखमा मात्रै आउने गरेको भन्दै नगरबासीहरुले नझुक्याउन नेताहरुलाई आग्रह गरेका छन् । ल्याण्ड पोलिङको काम नै अघि नबढेको भन्दै उनीहरुले नयाँ शहरको काम अघि बढाउन आग्रह गरेका हुन् ।
नयाँ शहर आयोजनाको काम शुरु भएको एक दशक बढी भईसक्दा समेत अपेक्षाकृत रुपमा काम अघि बढ्न सकेको छैन् ।