बैतडी –आसन्न स्थानीय तहको चुनावको चहलपहल तीव्र गतिमा भईरहेका बेला बैतडीको डिलाशैनी गाउँपालिकाको चुनावलाई महत्वका साथ हेरिएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका सुदूरपश्चिम अध्यक्ष सन्तोषप्रकाश जोशी पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेपछि डिलाशैनीको निर्वाचनमा सबैको ध्यान जान थालेको हो ।
एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालको गृह पालिका डिलाशैनीमै एमाले फुटको अवस्थामा छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेको छ । एमालेले आफ्नो संगठन बलियो भनिरहेको पालिकामा पार्टीबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जोशीको टीमले चुनौती दिईरहेको छ ।
स्वतन्त्रबाट अध्यक्ष पदका लागि चुनावी मैदानमा रहेका जोशीले आफूहरुको जित सुनिश्चित भएको दाबी गरेका छन् । यता एमालेले अक्कल रानालाई अध्यक्ष पदका उम्मेदवार बनाएर चुनावी दौडमा होमिएको छ ।
कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावी मैदानमा छन् । सो पालिकामा माओवादीका लोकेन्द्र राना (शितल) अध्यक्ष र कांग्रेसका भगीरथ बोहरा उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रेका छन् ।
डिलाशैनी गाउँपालिकाको केन्द्रका बिषयमा एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पालसंग फरक मत राख्दै आएका जोशी समूहले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि अहिले डिलाशैनीको चुनावी चर्चा जताततै फैलिएको छ । डिलाशैनीबासीहरुले सक्षम नेतृत्व चुन्ने दाबी गरिरहेका छन् । तर चुनावमा कसले बाजी मार्ला त्यो भने हेर्न बाँकी नै रहेको छ ।