बैतडी –आसन्न स्थानीय तहको निर्वाचन नजिक आएसंगै अहिले उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार सुमित्रा ऐर अहिले नवजात शिशु बोकेर चुनाव प्रचारप्रसारमा जुटेकी छिन् ।
गत वैशाख १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्न जाँदा उनी १२ दिनकी सुत्केरी थिइन् । पार्टीले टिकट दिएपछि आफू चुनावी मैदानमा होमिएकी सुमित्राले बताइन् । गत स्थानीय तहको निर्वाचनमा पनि उनी कांग्रेसबाट उपाध्यक्ष पदकी आकांक्षी थिइन् । त्यो बेला उनले टिकट पाउन सकेकी थिइनन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिएसंगै आफू टोलटोलमा मत माग्नका लागि नवजात शिशु सहित प्रचारप्रसारमा जुटेको उनले बताइन् । उनले भनिन् ‘मैले बच्चाको पनि ख्याल गरेकी छु । मतदाताहरुसंग मत पनि मागिरहेकी छु ।’
बच्चाको स्वास्थ्य र पोषणमा समेत ध्यान दिँदै आफू चुनावी मैदानमा उत्रेको सुमित्राले बताइन् । उनले भनिन् ‘घर परिवारको राम्रो साथ रहेको छ । प्रचारप्रसारमा श्रीमान पनि संगै जाने गर्नुभएको छ ।’
आफू महिला भएकाले महिलाको मुद्दालाई प्राथमिकतामा राखेर आफूले भोट मागिरहेको ऐरले बताइन् । सिगासमा कांग्रेसले अध्यक्ष पदका लागि भने हरिसिंह धामीलाई दोहर्याएको छ । अध्यक्ष पदको उम्मेदवार बनेसंगै उनी पनि चुनावी मैदानमा छन् । गएको स्थानीय तहको निर्वाचनमा सिगास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।
२०७४ सालको चुनावमा पनि उनले उपाध्यक्ष दाबी गरेकी थिइन् । तर कांग्रेसले उनलाई टिकट दिएन । ५ वर्षपछि पार्टीले टिकट दिएकाले उनी खुसी छिन् । २०७४ सालको चुनावमा सिगास अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेस लै जितेको थियो । त्यतिबेला चुनाव जितेका हरिसिंह धामीलाई नै कांग्रेसले दोहो¥याएको छ ।
सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भने पनि यहाँ तालमेल हुन सकेन । त्यसैले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवार उठाएका छन् ।
सिगास गाउँपालिका दुर्गमा पालिका हो । गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छ तर वडा तथा गाउँहरु सडक सञ्जालसँग जोडिएको छैन । उपाध्यक्षकी उम्मेदवार ऐरी पैदल नै हिंडेर सकेसम्म सबै गाउँ टोलमा पुग्ने लक्ष्यमा छिन् ।