बैतडी –आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि बैतडीमा सत्तागठबन्धन दलहरुले संयुक्त चुनावी सभा गर्ने भएका छन् । चुनावी तालमेल भएका पालिकाहरुमा संयुक्त चुनावी सभाको आयोजना गर्न लागिएको नेपाली कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले बताए ।
यही वैशाख १८ गते डिलाशैनीको पुजरीगाउँ, १९ गते दोगडाकेदारको खोचलेक, २० गते पञ्चेश्वरको कुलाउ र शिवनाथको सुल्लेखानमा संयुक्त चुनावी सभाको आयोजना हुने नेपाली कांग्रेसका कार्यालय सचिव अनिलकुमार बिष्टले बताए ।
यस्तै वैशाख २२ गते पाटन बजारमा संयुक्त चुनावी आमसभाको आयोजना गर्ने बताइएको छ । चुनावी सभामा आवश्यक सुरक्षा व्यवस्थाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र समेत पठाइएको छ ।
बैतडीका ५ ओटा पालिकामा सत्तागठबन्धन दलहरुले चुनावी तालमेल गरेका छन् । चुनावी तालमेल गरेका पालिकाहरुमा उनीहरु संयुक्त उम्मेदवार खडा गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् । बैतडीको पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सत्ता गठबन्धन दलहरुले चुनावी तालमेल गरेका छन् ।