Sagun Khabar
 बैतडीका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि गाउँगाउँमा

बैतडी – स्थानीय तहको निर्वाचन नजिक आएका बेला बैतडीका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । उम्मेदवारहरुले चुनाव चिन्ह पाएपछि अहिले गाउँगाउँमा चुनावी अभियान तातेको स्थानीयहरुले बताएका छन् ।

विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरु अहिले चुनावी प्रचार अभियानमा लागेका छन् । जिल्लाका सबै स्थानीय तहमा पार्टीका उम्मेदवारहरुलाई जिताउन प्रचारप्रसार अभियान केन्द्रित भएको एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले बताए । 

Atrya hospital

यस्तै जिल्लाभरी पार्टी उम्मेदवारहरुका लागि प्रचारप्रसार अभियान तीव्र रुपमा सञ्चालन भएको नेपाली कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले बताए । जिल्लाभरी गठबन्धन भएका र नभएका ठाउँमा पार्टीले चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएको उनले बताए । 

यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले पनि चुनावी प्रचारप्रसार अभियान तीव्र गतिमा अघि बढेको बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाहीको उपस्थितीमा जिल्लाका विभिन्न स्थानमा चुनावी सभा सम्पन्न गरेको छ । अहिले घरदैलो अभियान सञ्चालन भईरहेको पार्टीका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

यस्तै स्वतन्त्र उम्मेदवारहरुले पनि जिल्लाका विभिन्न स्थानमा चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । पुतली चुनाव चिन्ह पाएसंगै डिलाशैनी गाउँपालिकाका अध्यक्षका उम्मेदवार सन्तोषप्रकाश जोशीको टीम पनि चुनावी प्रचारप्रसारमा जुटेको छ । 

चुनाव प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहितको पूर्ण रुपमा पालना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ । निर्वाचन आचारसंहिता पालना नगरेको पाइएमा कानुन बमोजिम कारवाही हुने तर्फ कार्यालयले सचेत गराएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update