Sagun Khabar
बैतडीको सुर्नयामा उम्मेदवारका मिश्रित एजेण्डा 

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीको सुर्नया गाउँपालिकामा उम्मेदवार बनेकाहरुले आ –आफ्ना एजेण्ड प्रस्तुत गरेका छन् । सोमबार रेडियो निङ्गलाशैनीले सञ्चालन गरेको कार्यक्रममा सवाल–जवाफमा सहभागी हुँदै उम्मेदवारहरुले समृद्ध सुर्नयाका लागि आफूहरुको उम्मेदवारी रहेको दाबी गरेका छन् । 

उम्मेदवार र मतदाताहरुसंग अन्तरक्रिया गर्ने उद्देश्यले सुर्नया ५ स्थित रौलेश्वर माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अम्मरबहादुर कुँवरले जनप्रतिनिधि जनताका प्रिय हुन्छन् भन्ने कुराको अनुभुति गराउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने ‘सुर्नयाको समग्र विकासका लागि मेरो उम्मेदवारी हो । नागरिकलाई पालिकाबाट प्रदान गर्ने सेवा प्रवाह गर्नका लागि म प्रतिबद्ध रहेको छु ।’

गाउँपालिकाका नागरिकको स्वास्थ्य र शिक्षामा सर्वसुलभ पहुँच पुर्याउनका लागि आफ्नो उम्मेदवारी रहेको कुँवरले बताए । आफूले अध्यक्ष पदमा निर्वाचित भएमा गाउँपालिकामा सुशासन कायम गर्ने, एक घर एक धारा निर्माण गर्ने, टुहुरा बालबालिकाहरुका लागि छात्रवृतिको व्यवस्था,पर्यटकीय र धार्मिक क्षेत्रको विकास गर्ने बताए । 

Atrya hospital

यस्तै सुन्दर सुर्नया र सुखी सुर्नयाबासी आफ्नो नारा रहेको कुँवरले बताए । उनले भने ‘गाउँपालिकाबासीको आम चाहनालाई मध्यनजर गर्दै लोककल्याणकारी काम अघि बढाउनेछु ।’

यस्तै नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार गजेन्द्रबहादुर चन्दले आफूले निर्वाचित भएमा सुशासनयुक्त पालिका बनाउने दाबी गरे । कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरेको उनले बताए । उनले भने ‘सुर्नयाको समग्र विकासका लागि मेरो उम्मेदवारी हो । त्यसका लागि मैले पहल गर्छु ।’

यस्तै सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने, निजी शिक्षक व्यवस्थापन, युवा रोजगार कार्यक्रम, साना उद्योग स्थापना आफ्नो प्राथमिकतामा रहेको बताए । 

यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बिष्टले समग्र सुर्नयाको विकासका लागि आफूले आर्थिक रुपान्तरणका प्याकेज सञ्चालन गर्ने बताए । गाउँपालिकाभित्र आयुर्वेदिक केन्द्र स्थापना गरेर यहाँको जडीबुटी प्रशोधन गर्ने कार्यमा आफू लाग्ने उनले बताए । 

यस्तै कृषि क्षेत्रको व्यवसायिकरण गरेर रोजगारीका लागि भारत जाने समस्याको केही हदसम्म अन्त्यका लागि आफूले पहल गर्ने उनले बताए । यस्तै पालिकाभित्र औद्योगिक ग्राम स्थापना गर्ने बिष्टले दाबी गरे । यस्तै पालिकाभित्रका १६ जना उत्कृष्ट छात्रछात्राहरुलाई छात्रवृति प्रदान गर्ने कार्यक्रम आफूले अघि सार्ने उनले बताए । 

यस्तै स्वतन्त्रबाट अध्यक्ष पदका उम्मेदवार जितबहादुर महराले समग्र सुर्नयाको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । 

यस्तै नेपाली कांग्रेसबाट उपाध्यक्ष पदका उम्मेदवार मञ्जु बोहराले उपाध्यक्ष पदमा आफू एक्ली महिला उम्मेदवार रहेको बताइन् । महिलाको हक अधिकार स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताइन् । 

यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार दिलाराम भट्टले सुर्नया गाउँपालिकामा भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो उम्मेदवारी रहेको बताए । यस्तै राप्रपाका उपाध्यक्षका उम्मेदवार देवबहादुर चन्दले आर्दश सुर्नया निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताए । 

यस्तै स्वतन्त्रबाट उपाध्यक्षका उम्मेदवार जगदीश कुँवरले अहिले सम्म राजनीतिक दलहरुबाट नागरिकका समस्या समाधान नभएकाले स्वतन्त्रबाट आफूले उम्मेदवारी दिएको बताए । 

सवाल–जवाफ कार्यक्रममा सुर्नयाका विभिन्न ठाउँका नागरिकले उम्मेदवारहरुलाई प्रत्यक्ष रुपमा प्रश्न सोधेका थिए भने उम्मेदवारहरुले जवाफ दिएका थिए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १९:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update