बैतडी –आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर बैतडीको दोगडाकेदार गाउँपालिका खोचेलकमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा सम्पन्न गरेको छ । चुनावी तालमेल गरेका पालिकाहरुमा संयुक्त चुनावी सभा गर्ने निर्णय अनुसार सत्तागठबन्धनले चु्नावी सभा आयोजना गरेको नेपाली कांग्रेसका जिल्ला सचिव एवं कांग्रेसबाट दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार देवराज जोशीले बताए ।
चुनावी सभामा नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्द, एकीकृत समाजवादीका पोटिब्युरो सदस्य परमानन्द भट्ट, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, जिल्ला सहइन्चार्ज प्रेमप्रकाश भट्ट (आदित्य) लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
दोगडाकेदारमा जनताको सरकार स्थापित गर्नका लागि सत्तारुढ दलहरुले चुनावी तालमेल गरेको एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले बताए । उनले भने ‘चुनावी तालमेल अहिले देशको आवश्यकता हो । देशमा भएको परिवर्तनलाई जोगाउन चुनावी तालमेल गरेका हौं ।’
यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले देशको संविधानको रक्षाका निम्ति सत्तारुढ दलहरुबीच गठबन्धन भएको बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्दले दोगडाकेदारमा तानाशाही सरकारको अन्त्य गर्न चुनावी तालमेल भएको स्पष्ट पारे । उनले भने ‘तानाशाहका विरुद्ध गठबन्धन गरिएको छ । सबैले मिलेर तानाशाही प्रवृतिको अन्त्य गर्नु जरुरी छ ।’
बैतडीको दोगडाकेदारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । सो पालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसका देवराज जोशी र उपाध्यक्ष पदका लागि माओवादी केन्द्रका नवराज भट्ट (कुसुम)लाई उम्मेदवार बनाइएको छ ।
जिल्लाका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका,डिलाशैनी गाउँपालिका र पाटन नगरपालिकामा सत्तारुढ दलहरुले चुनावी तालमेल गरेका छन् ।
गठबन्धन दलहरुले आइतबार मात्रै जिल्लाको डिलाशैनी गाउँपालिकामा संयुक्त चुनावी सभा सम्पन्न गरेको थियो ।