बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न पालिकाले छात्रवृति दिने गठबन्धनले प्रतिबद्धता जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एक विद्यालय एक प्राविधिक बिषयको पठनपाठन गराइने उल्लेख गरिएको छ ।
गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवराज जाशी र उपाध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नवराज भट्ट (कुसुम)ले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा प्रत्येक वडामा साधना तथा व्यायाम केन्द्र स्थापना गर्ने, बिशेषज्ञ चिकित्सक सहितको पालिकास्तरीय अस्पताल निर्माण गर्ने, परम्परागत सीपलाई आधुनिकीकरण गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने उल्लेख गरिएको छ ।
यस्तै दोगडाकेदारदेखि रौलोकेदार सम्मको पर्यटकीय पदमार्ग निर्माण गर्ने, शारीरिक अपांगता भएका व्यक्तिहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।