Sagun Khabar
बैतडीको दनपामा सुशासन देखि नगरबस सम्म उम्मेदवारका एजेण्डा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा उम्मेदवार बनेकाहरुले सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रेडियो निङ्गलाशैनीले मंगलबार दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा आयोजना गरेको सवाल–जवाफ कार्यक्रममा सहभागी हुँदै उम्मेदवारहरुले आफ्नो एजेण्डा प्रस्तुत गरेका हुन् । 

कार्यक्रममा बोल्दै एमालेका तर्फबाट मेयर पदका उम्मेदवार पुष्करराज जोशी (लख्खाभाइ)ले नगरपालिकामा सुशासन कायम गर्न आफ्नो उम्मेदवारी रहेको बताए । यस्तै नगरक्षेत्रबाट भईरहेको बसाइसराई रोक्ने, पर्यटकीय क्षेत्रहरुको उजागर गरी यसलाई आर्थिक रुपान्तरणसंग जोड्ने आफ्नो योजना रहेको उनले बताए । यस्तै आफूले जितेमा नगरबस सञ्चालन गर्ने उनले बताए ।  

यस्तै नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार गजेन्द्रसिंह रावलले शिक्षा, स्वास्थ्य, सुशासन, पर्यटन र कृषिमा आत्मनिर्भर दशरथचन्द नगरपालिका बनाउने आफ्नो अभियान रहेको बताए । उनले भने ‘मैले अघिल्लो कार्यकालमा वडा अध्यक्षको रुपमा काम गरिसकेको छु । सोही अनुभवलाई अब नगर क्षेत्रमा प्रयोग गर्ने मेरो योजना छ ।’

Atrya hospital

यस्तै नगरपालिका क्षेत्रमा दुग्ध संकलन केन्द्र स्थापना गर्ने, साना उद्योग स्थापना गर्ने आफूहरुले प्रतिबद्धता पत्रमा उल्लेख गरिएको बताए । 

यस्तै नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार प्रेमसिंह थापाले नमूना नगरपालिका बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । शिक्षा क्षेत्रमा व्यापक परिवर्तन, धार्मिक पर्यटकीय क्षेत्रहरुको उजागर, निङ्गलाशैनी भगवती मन्दिरलाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्ने आफ्नो योजना रहेको बताए ।

यस्तै स्वतन्त्रबाट मेयर पदका उम्मेदवार दीपकराज शर्माले वर्तमान राजनीतिक बेथितीका कारण आफू राजनीतिमा होमिएको बताए । बिग्रेको राजनीतिक प्रणालीलाई युवाहरुले सुधार गर्नुपर्छ भन्ने मान्यताका साथ आफूले मेयर पदमा उम्मेदवारी दिएको उनले बताए । 

यसैगरी नेकपा एमालेका तर्फबाट उपमेयरका उम्मेदवार सरस्वती नेपालीले जनताको सेवक भएर काम गर्ने इच्छा सहित आफू उम्मेदवार बनेको बताइन् । मानवीय विकास, महिला सशक्तीकरण, छुट मुक्त हलियाहरुलाई परिचय पत्र वितरण आफ्नो प्राथमिकतामा रहेको उनले बताइन् । 

यसैगरी एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार राजुराम भुलले आफू सीमान्तकृत समुदायबाट उम्मेदवार बनेकाले पिछडिएका वर्गका समस्या समाधानमा आफ्नो ध्यान केन्द्रित हुने बताए । 

यस्तै राप्रपाबाट उपमेयरका उम्मेदवार अम्बिका भण्डारीले भ्रष्टाचारमुक्त नगरपालिका बनाउन आफ्नो उम्मेदवारी रहेको बताइन् । आफूहरुले भ्रष्टाचार नगर्ने कसम खाएर उम्मेदवारी दर्ता गरेको समेत उनले बताइन् । आफूले निर्वाचित भएमा स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने उनले बताइन् । 

कार्यक्रममा नगरबासीहरुले सोधका प्रश्नको उम्मेदवारहरुले जवाफ दिएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update