बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा रहेका प्रमुख धार्मिक स्थलहरु रौलाकेदार धाम र पातालभुवनेश्वर धाम उम्मेदवारहरुको प्राथमिकतामा परेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनेकाहरुले दुवै धार्मिक क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
सुर्नया गाउँपालिका २ स्थित पातालभुवनेश्वर धाम र सुर्नया ५ स्थित रौलाकेदार धाममा धार्मिक पर्यटकको आकर्षण बढाउन आफूले पहल गर्ने एमालेबाट अध्यक्ष पदका उम्मेदवार अम्मरबहादुर कुँवरले बताए ।
यस्तै नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार गजेन्द्रबहादुर चन्दले धार्मिक, पर्यटकीय क्षेत्रहरुको विकासका लागि आफूले निर्वाचित भएमा पहल गर्ने बताए । उनले भने ‘रौलाकेदार, पातालभुवनेश्वर धामको विकासका लागि मैले सक्ने पहल गर्नेछु ।’
एकीकृत समाजवादीबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बिष्टले धार्मिक पर्यटनलाई ग्रामीण अर्थतन्त्रसंग जोड्ने बताए । उनले भने ‘पालिकाभित्र रहेका रौलाकेदार धाम र पातालभुवनेश्वर धामको प्रचारप्रसारका लागि मैले पहल गर्नेछु । यसको धार्मिक र सांस्कृतिक महत्व उजागर गर्ने योजना बनाएको छु ।’
सुर्नयामा अवस्थित रौलाकेदार धाम र पातालभुवनेश्वर धाम ज्योतिर्लिङ्ग भएकाले यिनीहरुको प्रचारप्रसार गरेमा धार्मिक पर्यटक बढाउन सकिने यो क्षेत्रका जानकारहरुले बताएका छन् ।
रौलाकेदार धाम केदारनाथ ज्योतिर्लिङ्ग भएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले यसअघि नै बताइसकेका छन् । यस्तै पातालभुवनेश्वर धामको बारेमा समेत पूराणहरुमा उल्लेख गरिएको उनले बताए ।
यी दुवै धामको बारेमा योजना बनाएर अघि बढ्न सके धार्मिक र आर्थिक क्षेत्रमा विकास हुने रौलेश्वर माविका प्रधानाध्यापक उद्धवबहादुर बिष्टले बताए । उनले भने ‘चुनावी नारा मात्रै नभएर साच्चै काम गर्ने हो भने सुर्नयामा धार्मिक पर्यटनबाटै अर्थतन्त्रमा सुधार आउँछ ।’
चुनावका बेला मात्रै नभएर अन्य समयमा नीति निर्माताहरुको ध्यान जानुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् । स्थानीय सरकार नजिकको सरकार भएकाले यो सरकार जनताले अनुभुत गर्ने खालको हुनुपर्ने स्थानीय अर्जुन कुँवरले बताए ।