बैतडी- बैतडीका झण्डै ७५ हजार बालबालिकाहरुलाइ टाइफाइड विरुद्धको खोप लगाइएको छ । जिल्लाका १० ओटै पालिकाका ७४ हजार ९ सय १६ बालबालिकालाई खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिकाका ८ हजार ४ सय ८१ बालबालिकाहरुलाइ खोप दिइएको छ । यस्तै पाटन नगरपालिकाका ८ हजार ७ सय १०, पुर्चौडी नगरपालिकाका १२ हजार ४ सय २२ , मेलौली नगरपालिकाका ६ हजार २ सय ३६ बालबालिकाहरुलाइ खोप लगाइएको छ ।
यस्तै डिलाशैनी गाउँपालिकाका ६ हजार ६सय १७, दोगडाकेदार गाउँपालिकाका ६ हजार ९ सय १४, पञ्चेश्वर गाउँपालिकाका ५ हजार ५ सय ६९, शिवनाथ गाउँपालिकाका ६ हजार ३ सय ७२, सिगास गाउँपालिकाका ७ हजार ७ सय ५०, र सुर्नया गाउँपालिकामा ५ हजार ८ सय ४५ जना बालबालिकाहरुले खोप सेवा पाएका हुन् ।
बैतडीका ७८ हजार बालबालिकाहरुलाइ खोप लगाउने लक्ष्य राखीएको थियो । लक्ष्य अनुसार खोप दिन नसकिएपनि उत्साहजनक तरिकाले बालबालिकाले जिल्लामा खोप लगाएका स्वास्थ्य प्रमुख योगेश प्रशाद भट्टले बताए । चैत्र २५ गतेबाट टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको थियो ।
जिल्लाका १५ महिना देखी १५ वर्षसम्मका बालबालिकाले खोप सेवा पाएका हुन् । टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप पहिलो पटक दिइएको हो । यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत रहेको छ ।
यो बर्ष अभियानको रुपमा टाइफाइड विरुद्धको खोप दिइएको छ भने अर्को बर्षदेखि बालबालिकाहरुलाई दिइने नियमित खोपमै टाइफाइड विरुद्धको खोपलाई दिइने छ । बालबालिकाहरुलाई १५ महिना हुँदा दादुरा–रुबेला खोपको दोश्रो मात्रा दिने बेला टाइफाइड विरुद्धको खोप पनि दिइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।