बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा उम्मेदवार बनेकाहरुले समुन्नत दोगडाकेदार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जले दोगडाकेदारको खोचलेकमा बिहीबार आयोजना गरेको सवाल–जवाफ कार्यक्रममा सहभागी हुँदै उम्मेदवारहरुले दोगडाकेदारको समग्र विकासको लागि आफूहरुको उम्मेदवारी रहेको बताएका छन् ।
नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चक्र कार्कीले आफूले पहिलो कार्यकालमा शुरु गरेका विकासका योजनाहरुलाई पूर्णता दिनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । आर्थिक, सामाजिक, वातावरण संरक्षणका योजनाहरुको निरन्तरताका लागि आफ्नो उम्मेदवारी रहेको उनले दाबी गरे । उनले भने ‘राम्रो दोगडाकेदार, हाम्रो दोगडाकेदार बनाउन मेरो उम्मेदवारी हो । दोगडाकेदारका हरेक सम्भावनालाई उजागर गर्नका लागि मेरो उम्मेदवारी हो ।’
यस्तै नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार देवराज जोशीले दोगडाकेदारमा जनताको सरकार स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताए । नेपालको संविधानले परिकल्पना गरेको स्थानीय सरकारको अनुभूती दोगडाकेदारबासीले गर्न नपाएकाले आफूहरु माओवादी केन्द्रसंग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको उनले बताए । उनले भने ‘गएको ५ बर्षमा दोगडाकेदारमा एमालेको सरकार थियो । त्यो सरकारले कसरी काम गर्यो? यो सबैलाई थाहा छ । त्यसैका विरुद्ध मेरो उम्मेदवारी हो ।’
एमालेका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार पार्वती ऐरी कार्कीले महिलाहरुको स्थानीय सरकारमा पहुँच पुर्याउन आफ्नो उम्मेदवारी रहेको बताइन् । मातृ शिशु कोषको स्थापना, मातृ र शिशु मृत्यु शुन्यमा झार्ने, एक मावि एक नर्स कार्यक्रम अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताइन् । यस्तै छोरी पढाउ, छोरी बचाउ अभियान आफ्नो चुनावी एजेण्डा रहेको बताइन् । बालबालिकाहरुका लागि आफूले जितेमा बाल मनोरञ्जन पार्क बनाउने आफ्नो योजना रहेको उनले सुनाईन् । यस्तै पहिलो कार्यकालमा आफूले शुरुवात गरेका महिला लक्षित कार्यक्रमलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताइन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार नवराज भट्ट (कुसुम)ले स्थानीय सरकार सञ्चालन ऐन अनुसार सरकार सञ्चालन गर्न आफ्नो उम्मेदवारी रहेको बताए । आम महिला, दलित र पिछडिएका वर्गहरुको उत्थानका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरे । अन्याय,दमन र शोषणका विरुद्ध आफ्नो उम्मेदवारी रहेको भट्टले बताए ।
कार्यक्रममा उम्मेदवारहरुलाई स्थानीयबासीहरुलाई उनीहरुका एजेण्डाका बारेमा प्रश्न गरेका थिए । रेडियो निङ्गलाशैनीले उम्मेदवार र मतदाताबीच प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम सवाल–जवाफ सञ्चालन गरेको हो ।