बैतडी –नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् । सत्तागठबन्धन दलहरुको आयोजनामा आज बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य महरले संविधान मास्न खोजिएपछि गठबन्धन गरिएको बताए ।
देशमा केपी ओलीले तानाशाही र निरकुंश प्रवृति देखाएकाले सोही प्रवृति विरुद्ध दलहरुबीच गठबन्धन बनेको उनले बताए । उनले भने ‘गठबन्धन अहिले मात्रै होइन । भविष्य सम्म जान्छ । त्यसैले गठबन्धनका उम्मेदवारहरुलाई भोट दिन आग्रह गर्दछु ।’
देशभरी जस्तै बैतडीमा सत्ताधारी दलहरुबीच गठबन्धन भएकाले गठबन्धनका उम्मेदवारहरुलाई भोट दिन उनले आग्रह गरे ।
चुनावी सभामा एकीकृत समाजवादीका पोलिट्ब्युुरो सदस्य परमानन्द भट्टले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि गठबन्धन गरिएको बताए ।
चुनावी सभामा माओवादी केन्द्रका प्रदेश कमिटि उपाध्यक्ष रणबहादुर कुँवर, नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
बैतडीमा चुनावी तालमेल भएका पालिकाहरुमा सत्तागठबन्धनले संयुक्त चुनावी सभा सम्पन्न गरेका हुन् । बैतडीको डिलाशैनी, दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ र पाटनमा चुनावी सभा सम्पन्न भएको कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए ।