बैतडी –नेपाली कांग्रेस दशरथचन्द नगरकार्यसमितिले आसन्न स्थानीय तहको चुनावका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । दशरथचन्द नगरपालिका वडा नं १ आयोजना गरिएको चुनावी सभामा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कांग्रेसबाट मेयरका उम्मेदवार गजेन्द्रसिंह रावल र उपमेयरका उम्मेदवार कौशिला चन्दले प्रतिबद्धता पत्रमा भएका कुरा कार्यान्वयन दाबी गरे ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नगर बस सञ्चालन गर्नेदेखि लिएर शहीद दशरथचन्दको जन्म घरलाई संग्रहालय बनाउने कुरा उल्लेख गरिएको छ । यस्तै नगर क्षेत्रभित्र कृषिलाई प्राथमिकता दिएर कृषिमा आधुनिकीकरण ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाभित्रका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको उत्थान गरी धार्मिक पर्यटनको क्षेत्रमा बिशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यसैगरी वडा केन्द्रमा जोड्ने सडकहरुलाई स्तरोन्नती गर्ने, सडकले छुन बाँकी रहेका टोलहरुमा सडक विस्तार गर्ने, नगरभित्रका प्रमुख सडकहरु बाह्रै महिना सञ्चालन योग्य बनाउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
यस्तै नगर क्षेत्रभित्र स्वच्छ पानी स्वस्थ, नागरिक अभियान सञ्चालन गर्ने, शैक्षिक गुणस्तर सुधारका लागि बिशेष पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै सुन्दरखाली खेलमैदानलाई राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न लायक बनाइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
सुत्केरी आमा पोषिलो खाना कार्यक्रम सञ्चालनमा ल्याउने, जेष्ठ नागरिकका लागि आध्यात्मिक सत्संग एवं मनोरञ्जन स्थल बनाइने कुरामा समेत उल्लेख गरिएको छ ।