Sagun Khabar
स्थानीय सरकार प्रति नागरिकको वितृष्णा 

बैतडी –स्थानीय सरकारका जनप्रतिनिधिहरुको पहिलो कार्यकाल सकिनै लाग्दा बैतडीका नागरिक असन्तुष्ट रहेका पाइएको छ । संघीयतापछि गाउँघरको सरकारले स्थानीय समस्या समाधान गर्ने आसा बोकेको भएपनि त्यसो हुन नसकेको उनीहरुको गुनासो छ । 

रेडियो निङ्गलाशैनीले जिल्लाका विभिन्न पालिकाहरुमा सञ्चालन गरेको सवाल–जवाफ कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारले स्थानीय आवश्यकता नबुझेको आरोप लगाएका छन् । अघिल्लो चुनाव आउँदै गर्दा रोजगारी पाउने आस गरेका युवाहरु यो चुनावका लागि पनि भारतबाटै फर्किनु परेको सुर्नया ५ रौलेश्वरका युवा हेमबहादुर बिष्टले बताए । उनले भने ‘गएको चुनावमा पनि हामीले भोट हालेका हौं । तर भने अनुसार केही भएको छैन् । अब हामी युवाहरुले किन भोट हाल्ने ?’

Atrya hospital

स्थानीय सरकारहरुले युवाको आवश्यकता बुझ्न नसकेको पाटन ४ का गौरीदत्त भट्टले बताए । स्थानीय सरकारहरुले युवाको आवश्यकता अनुसार रोजगारीको सिर्जना गर्न नसकेको उनले बताए । उनले भने ‘युवाहरुको आवश्यकता के हो ? भन्ने बिषयमा जनप्रतिनिधिहरुले चासो नै दिएनन् ।’

स्थानीय सरकारहरु आएपनि सरकार आएको अनुभुति नै गर्न नसकिएको दोगडाकेदारका केशवराज जोशीले बताए । स्थानीय सरकारहरु स्थानीय आवश्यकता भन्दा पनि व्यक्तिमा बढी केन्द्रित भएको उनले आरोप लगाए । उनले भने ‘जनप्रतिनिधिहरु सबैका हुनुपर्नेमा स्थानीय सरकारका जनप्रतिनिधिहरुले त्यस्तो अभाष दिलाउन सकेनन् । यस्तो खालको परिपाटी अब अन्त्य हुनुपर्छ ।’

स्थानीय सरकारहरुले स्थानीय आवश्यकता अनुसार योजना बनाउनुपर्ने भएपनि पहिलो कार्यकालमा जनप्रतिनिधिहरुले त्यस्तो गर्न नसकेको नागरिकको गुनासो छ । 

नागरिकका यस्ता गुनासाहरुलाई सम्बोधन गर्ने हिसाबले अबका दिनमा योजना र कार्यक्रम ल्याइने उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् । दशरथचन्द नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार गजेन्द्रसिंह रावलले नगरबासीहरुको आवश्यकता अनुसार योजना बनाइने बताए । 

नगरबासीहरुको आर्थिक र सामाजिक क्षेत्रमा रुपान्तरण ल्याउने उद्देश्य सहित आफूहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको एमालेका तर्फबाट दशरथचन्द नगरपालिकामा मेयर पदका उम्मेदवार पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । 

स्थानीयहरुका लागि रोजगारीको सिर्जना गर्ने हिसाबले औद्योगिक ग्राम स्थापनाका कुराहरु अघि बढाउन आफू प्रतिबद्ध रहेको एकीकृत समाजवादीका तर्फबाट सुर्नया गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बिष्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update